कोरोना परीक्षणमा दोब्बर शुल्क लिँदै स्टार अस्पताल



काठमाडौं : कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने आरटी–पिसिआर परीक्षणका लागि काठमाडौंको स्टार अस्पतालले सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क लिइरहेको पाइएको छ । सरकारले शुल्क घटाएयताको १३ दिनमा मात्रै स्टारले एक करोड २८ लाखभन्दा बढी शुल्क असुल गरेको छ । 

सरकारले २८ भदौमा पिसिआर परीक्षणको शुल्क चार हजार पाँच सयबाट घटाएर दुई हजार कायम गरेको छ । कुनै पनि अस्पतालले योभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । तर, स्टार अस्पतालले भने स्वास्थ्य मन्त्रालयकै संरक्षणमा सरकारले तोकेकोभन्दा झन्डै दोब्बर शुल्क असुलेको पाइएको छ । स्टारले प्रतिनमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिएको बिल नयाँ पत्रिकाले फेला पारेको छ । यो सरकारले तोकेको मूल्यभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी हो । 

सरकारले दुई हजार शुल्क तोकेको १३ दिनको भएको छ । यो अवधिमा मात्रै स्टारले ६ हजार सात सय ८० वटा नमुना परीक्षण गरेको स्वास्थ्य मन्त्रालयलाई बुझाएको रिपोर्टमा देखिन्छ । सरकारले तोकेको शुल्कमा परीक्षण गर्दा एक करोड ३५ लाख ६० हजार रुपैयाँ हुन्छ । तर, स्टार अस्पतालले एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ बढी असुल गरेको छ ।

प्रयोगशाला विज्ञहरूका अनुसार सरकारले तोकेको शुल्कमा पनि फाइदा हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयका आनुवंशिक वैज्ञानिक डा. गिरिराज त्रिपाठीले पनि धेरै परीक्षण गर्दा सरकारले तोकेको दुई हजार शुल्कमा पनि प्रतिनमुना पाँच सय रुपैयाँ फाइदा हुने बताए । पिसिआर परीक्षणका लागि पूर्ण रूपमा ल्याब तयार हुन ५० देखि ६० लाख रुपैयाँ खर्च हुने बताउँदै डा. त्रिपाठीले भने, ‘ठूलो खर्च भएको हुँदा दैनिक न्यून मात्रामा पिसिआर परीक्षण हुँदा निजी प्रयोगशालाले दुई हजारमा गर्न सक्दैनन् । तर, सयभन्दा बढी परीक्षण भएमा सरकारले तोकेको शुल्कमा पाँच सय फाइदा हुन्छ ।’ डा. त्रिपाठीका अनुसार धेरै नमुना भएमा प्रतिनमुना एक हजार पाँच सयमा पनि परीक्षण गर्न सकिन्छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार स्टार अस्पतालले प्रत्येक दिन चार सयभन्दा बढी नमुना परीक्षण गरिरहेको छ । यो १३ दिनमा सरकारले तोकेकै शुल्क परीक्षण गर्दा पनि स्टार अस्पताललाई प्रतिनमुना पाँच सयका दरले ३३ लाख ९० हजार रुपैयाँ फाइदा हुने प्रयोगशाला विज्ञहरू बताउँछन् । तर, स्टार अस्पतालले सरकारले तोकेभन्दा एक हजार आठ सय ९९ रुपैयाँ बढी शुल्क लिएर परीक्षण गरिरहेको छ । प्रतिनमुना एक हजार आठ सय ९९ रुपैयाँ बढी लिएर ६ हजार सात सय ८० जनाबाट १३ दिनमा एक करोड २८ लाख ७५ हजार दुई सय २० रुपैयाँ असुलेको छ । 

पछिल्लो २४ घन्टामा मात्रै स्टार अस्पतालमा सात सय २१ वटा नमुना परीक्षण गरिएको छ । जसबाट एकैदिनमा सरकारले तोकेभन्दा १३ लाख ६९ हजार एक सय ७९ रुपैयाँ बढी उठाएको छ । 

स्टार हस्पिटल कोभिड–१९ प्रयोगशालाका टिम लिडर गोविन्द अकेला सरकारले तोकेको दुई हजार शुल्कमा परीक्षण गर्न नसकिने बताउँछन् । ‘हामीले ५५ सयबाट ४५ सयमा पनि झार्‍यौँ, तर अब दुई हजारमा पिसिआर गर्न सकिँदैन,’ अकेलाले भने । अरू अस्पतालले पनि तीन हजार आठ सय ९९ रुपैयाँमै पिसिआर परीक्षण गरिरहेको उनको भनाइ छ । 

अहिले देशभर ४० सरकारी र १५ निजी कोभिड प्रयोगशाला सञ्चालनमा छन् । निजी १५ वटामध्ये दुईवटा प्रयोगशाला काठमाडौं मेडिकल कलेज र बिध ल्याब कुपन्डोलले सरकारले तोकेभन्दा एक रुपैयाँ सस्तोमा पिसिआर परीक्षण गरिरहेका छन् । अन्य प्रयोगशालाले भने स्वास्थ्य मन्त्रालयकै संरक्षणमा बढी शुल्क लिइरहेको जनाएका छन् । 

तर, स्टार अस्पतालका कोभिड–१९ प्रयोगशालाका टिम लिडर अकेला स्वास्थ्यमन्त्रीसँग छलफल गरेर शुल्क बताइने बताउँछन् । तीन हजार पाँच सय रुपैयाँसम्म सहमति गरिने उनको भनाइ छ । मन्त्रालय स्रोतका अनुसार निजी प्रयोगशालाहरूले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई शुल्क बढाउन दबाब दिइरहेका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजारभन्दा बढी शुल्क लिएको पाइएमा प्रयोगशाला बन्द गर्ने जनाएको छ । पटक–पटक गरेको अनुरोध अटेर गरेपछि प्रयोगशालाले अन्तिमपटक भन्दै शुक्रबार एक सूचना जारी गरेको छ । शनिबारदेखि दुई हजारभन्दा बढी शुल्क लिने प्रयोगशालाको सेवा बन्द गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुणा झाले बताइन् । नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्