झापाका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु



विराटनगर : विराटनगरको कोशी अस्पतालमा झापाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको शनिबार राति १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

चिकित्सकलाई उद्धृत गर्दै अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाबको पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो ।

भदौ ८ गते कोरोना पुष्टि भएपछि उनलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, स्वास्थ्य अवस्था खराब हुँदै गएपछि उनलाई थप उपचारका लागि शनिबार राति विराटनगर ल्याइएको बस्नेतले बताए ।

उनका अनुसार आइसोलेसनमा लैजानलाई बोकेर आएको एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमित पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुषमा कुनै दीर्घ रोग भए नभएको बारे केही जानकारी प्राप्त भइ नसकेको बस्नेतले बताए ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्