सम्झना हत्या प्रकरण : पोस्टमार्टम रिपोर्ट भन्छ–‘बलात्कारपछि हत्या’



बझाङ : बझाङको मस्टा–२ खिकाला गाउँकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

जिल्ला अस्पताल बझाङले तयार गरेको पोस्टमार्टम प्रतिवेदनले सम्झनाको बलात्कारपछि हत्या भएको पुष्टि गरेको हो । गत बुधबार मन्दिरभित्र १२ वर्षीया सम्झना मृत अवस्थामा भेटिएकी थिइन् ।

‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको छ । टाउको, अनुहार, पिठिउँलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको छ । बाहिरी चोटहरू सम्झनाले बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ,’ पोस्टमार्टम रिपोर्टमा लेखिएको छ ।

प्रहरी स्रोतका अनुसार सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । उनको कलेजोको दुई ठाउँमा ठुल्ठूला घाउ रहेको र त्यसैका कारण मृत्यु भएको रिपोर्टमा उल्लेख गरेको छ ।

कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला अस्पताल बझाङले सम्झनाको पोस्टमार्टम रिपोर्ट शनिबार जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

सम्झना हत्यासम्बन्धी थप प्रमाण जुटाउन भन्दै जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली पुनः घटनास्थल मस्टा गाउँपालिकाको खिकाला गएको छ । टोलीले शनिबार दिनभरि घटनास्थलको निरीक्षण र स्थानीयसँग सोधपुछ गरेको थियो । घटना भएको खबर आएलगत्तै बुधबारको राति नै खिकाला पुगेको प्रहरीको टोलीले बालिका घरबाट निस्कँदा बोकेको डोको, नाम्लो र हँसिया कसैले नछुनू भन्दै घटनास्थलमै छाडेर आएको थियो

 ।यसैबीच हत्यामा संलग्नलाई कारबाही माग गर्दै जिल्ला सदरमुकाम चैनपुरमा स्थानीयले दबाबमूलक कार्यक्रम गरेका छन् । यता सम्झनाको हत्यारालाई कारबाही गर्न मार्ग गर्दै संघीय राजधानी काठमाडौंमा शनिबार प्रदर्शन भएको छ ।

यो पनि

बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सरकार बलात्कारीलाई फाँसी दे !

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्