आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने पौडेल समूहको तयारी



काठमाडौं : नेपाली काँग्रेसका संस्थापन इतर समूहले महाधिवेशनको निष्पक्षतासँग जोडिएका पछिल्ला निर्णय सच्याउन माग राखेर पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने भएको छ ।

शनिबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा संस्थापन इतर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकको निर्णयपछि आइतबार दिउँसो पार्टी कार्यालयमा विरोध पत्र दर्ता गर्न लागिएको हो ।

विरोध पत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जनाको हस्ताक्षर रहेको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको समर्थनमा विरोध पत्र दर्ता गर्ने प्रयास भइरहेको छ ।

त्यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौलाबीच आइतबार बिहान आन्तरिक विषयमा छलफल भइरहेको छ ।

तर सिटौला आफ्नो समूहलाई छुट्टै अघि बढाउने भन्दै पौडेलसँगको मोर्चाबन्दीबाट सामेल नहुने निष्कर्ष निकालेको छ ।

शनिबार पौडेल समूहले बसुन्धरा बैठक राखेकै समयमा सिटौला समूहको बैठक सिटौला निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको थियो । सिटौलामा समूहलाई सामेल हुन नचाहे पनि पदाधिकारी र सदस्यहरू गरी २७ जनाद्वारा हस्ताक्षरित विरोध पत्र दर्ता गर्ने पौडेल समूहको तयारी छ ।

घिमिरेका अनसार विरोध पत्रमा विधानविपरीत गठन भएका केन्द्रीय विभागको खारेजी र क्रियाशील सदस्यतासम्बन्धी निर्णयहरू खारेज हुनुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्