रहेनन् भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंह



नयाँदिल्ली : भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको आइतबार निधन भएको छ। भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्यमध्ये एक जसवन्त सिंहको ८२ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजस्थानको बाडमेरका जसवन्तले अटल विहारी बाजेपेयीको सरकारमा विदेश, रक्षा र वित्त मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका पूर्व मेजर पनि हुन् ।

सिंहको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गम्भीर दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले ट्वीटमार्फत श्रद्धाञ्जली अर्पण गर्दै सिंहले पूरै लगनका साथ देशको सेवा गरेको बताएका छन् ।

सन् २०१४ मा घरकै बाथरुममा लडेपछि जसवन्त सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसयता उनी कोमामा थिए ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्