पठनपाठनको वैकल्पिक विधि छनोटमा अलमल



धनगढी : कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ ।

सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम पठनपाठन सहजीकरण गर्न विद्यार्थीको वर्गीकरण र अभिलेखिकरणको काम भइरहँदा कस्तो विधि अपनाउन उपयुक्त हुन्छ भन्नेमा टुङ्गोमा पुग्न नसक्दा विद्यालय प्रशासन, शिक्षक र अभिभावकमा अन्योल देखिन थालेको हो । यद्यपि कतिपय विद्यालयले भने समाजिक दूरी कायम राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पठनपाठन शुरु गरिसकेका छन् ।

सिकाइका वैकल्पिक विधिबारे आआफ्नो अनुकूल हुने सुझाव अभिभावक र शिक्षकबाट आउन थालेपछि कुन विधि उचित हुन सक्छ भन्नेमा टुङ्गो लगाउन अलमल हुँदा अन्योल देखिएको कैलाली विद्या निकेतन धनगढीका प्राचार्य टोपेन्द्र शाहले बताए । “बझाङ घर भएका आफ्नो विद्यालयका एक अभिभावकले बझाङमै पुगेर बच्चालाई पढाइदिन आग्रह गर्नुभयो”, प्राचार्य शाहले भने, “अपनाउन सकिने सिकाइ विधिका लागि अभिभावकमा भर पर्नुपर्ने भएकोले उनीहरू तयार नहुँदासम्म कुनै पनि विधिबाट सिकाइ गर्न सम्भव देखिँदैन ।”

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकालाई कार्यान्वयनमा लैजान स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयमा परिपत्र गरेका छन् । परिपत्रबमोजिम विद्यालयहरूले विद्यार्थीको अभिलेखीकरण र वर्गीकरण गरी वैकल्पिक शिक्षा प्रणाली अपनाएर विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्