एसिड पीडित तीन युवती र एक पुरुषले पाए रोजगारी



काठमाडौं : एसिड आक्रमणका तीन जना युवती र एक पुरुषले रोजगारी पाएका छन् ।

एसिड आक्रमणका ३ जना युवतीलाई कुमारी बैंकले रोजगारीको व्यवस्था गरेको हो । दुई जनालाई उपत्यका र एक जनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था बैंकले गरेको हो ।

त्यस्तै एक पुरुषलाई महान्यायाधिवक्ताको कार्यालयले चालकमा करार नियुक्ति दिएको छ ।

एसिड अपराध विरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाले हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको जानकारी दिए ।

यसैगरी महान्यायाधिवत्ता अग्नी खरेलले आफ्नै श्रीमतीबाट एसिड आक्रमणमा परेका नुवाकोटका रामराजा थापालाई असोज १ गतेबाटै पारिश्रमिक गणना हुने गरी करारमा चालक नियुक्ति गरेका छन् ।

बैंकले तीनैजनालाई ‘मार्केटिङ अफिसर’को रुपमा बैंकले रोजगारी दिलाएको एसिड अपराधविरुद्ध न्याय, पुुनस्थापना र कडा कानुनका लागि क्रियाशील सामाजिक अभियान्ता थापाले जानकारी दिए ।

थापाका अनुसार बैंकले आजै तीनैजनालाई रोजगारी दिने सम्बन्धी पत्रमा हस्ताक्षर गर्न लागेको हो । असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा शुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने छ ।

हेटौंडाकी कंसाकारमाथि २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारत महाराजगञ्ज (अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले एसिड आक्रमण गरेका थिए । २०७१ फागुन १० गते एसएलसी परीक्षाका लागि ट्युसन पढ्न निस्किएकी संगीता मगरलाई बसन्तपुरमा रामेछाप फुलासीका जीवन बिकले एसिड छ्यापेका थिए ।

त्यस्तै २०७६ जेठ २ गते कालोपुलमा काभ्रे फुलबारीकी जेनी खड्कामाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड प्रहार गरेका थिए ।

२०७६ फागुन २६ गते विदुर नगरपालिका–१३ घर भई बालाजु बस्दै आएका २७ वर्षीय रामराजा थापालाई उनकै श्रीमती प्रतिमा थापाले एसिड प्रहार गरेकी थिइन् ।

सरकारले पनि एसिड आक्रमण गर्नेविरुद्ध बिहीबार नै अध्यादेशमार्फत् अधिकतम २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा उपचार खर्च निःशुल्क हुने गरी मन्त्रिपरिषद्बाट कानुन पारित गरेको छ । अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ । पछिल्लो ७ वर्षमा मात्रै देशभर डेढ दर्जनमाथि एसिड आक्रमण भएको थियो ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्