ओली–प्रचण्ड भेटवार्ता सकियो, सहमति हुन सकेन



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । तर भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन बारेमा कुनै सहमति हुन सकेन ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्षद्वयबीचको भेटवार्ता सकिएको र तत्काल कुनै पनि विषयमा सहमति बनिसकेको छैन । पुनः छलफल गर्ने गरी तत्काल अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्किएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन र विभिन्न संवैधानिक आयोगका नियुक्तिका विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका थिए । करिब दुई घण्टा छलफल भए पनि सहमति भने हुन सकेन । सहमति भए आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली थिए । त्यसैकारण उनले आज १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

प्रधानमन्त्री ओली र प्रचण्ड भित्र छलफल गरिरहँदा मन्त्रीहरु बैठकका लागि बालुवाटार पुग्न थालेपछि प्रचण्ड छलफललाई छोट्याएर निस्किएका थिए । प्रचण्ड निस्किएपछि आज हुने भनिएको मन्त्रिपरिषद पुनर्गठनको सम्भावना टरेको छ ।

प्रतिक्रिया दिनुहोस्