पौडेलको विरोध पत्रमा हस्ताक्षर गर्न सिटौला समूहद्वारा अस्वीकार



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर नगर्ने भएका छन् ।

आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए । तर, सिटौलाले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सभापति देउवालाई बुझाउने तयारी पारिएको विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो ।

समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ–शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएका छन्, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

पूर्वमहामन्त्री सिटौलाले रामचन्द्र पौडेल समूहको विरोध पत्रमा मेरो समूहले किन हस्ताक्षर गर्नुपर्यो ? भन्दै प्रश्न गरेका छन् ।

मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उनले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताएका छन् ।

यता सिटोला समूहसहित प्रदीप पौडेल, गगन थापा र (आमन्त्रित) शिव हुमागाईले पनि विरोध पत्रमा हस्ताक्षर नगर्ने भएका छन् ।

यो पनि :

आज पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने पौडेल समूहको तयारी

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्