सौरहा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुट



चितवन : कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् ।

सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, “व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छौ ।”

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताए । उनले भने, “प्रमुख शहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्नेछौँ ।” ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत सङ्घ संस्थासँग समन्वय भइरहेको उनले जानकारी दिए ।

आउँदा दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । “कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागि परेका छौँ”, भट्टराईले भने, “दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।” पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल सङ्घसहित ११ सङ्घ संस्थाले कार्यक्रमको आयोजना गरेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरिन् । उनले आश्वासन दिइन्, “अब सौराहा शून्य हुँदैन, नगरपालिका तपाईहरुको साथमा छ ।”

रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्