धाराको पानीमा मस्तिष्क खाने सूक्ष्मजीव, प्रयोग नगर्न चेतावनी



एजेन्सी : अमेरिकी राज्य टेक्ससको लेक ज्याक्सनका बासिन्दालाई धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ । उक्त सहरको सार्वजनिक पानी आपूर्ति प्रणालीमा घातक खालको मस्तिष्क खाने सूक्ष्मजीव पाइएपछि त्यस्तो चेतावनी दिइएको हो । पानीमा नेग्लेरिया फाउलेरी नामको सुक्ष्म जीवको उपस्थिति रहेको परीक्षणहरूले पुष्टि गरेको छ ।

त्यस्तो सूक्ष्म जीवाणु अमीबाले दिमागमा संक्रमण गर्नसक्छ र त्यो घातक हुन्छ । संक्रमण अमेरिकामा दुर्लभ रहँदै आएको छ । सन् २००९ देखि २०१८ सम्म जम्मा ३४ वटा संक्रमण देखिएको विवरणहरू छन् ।

लेक ज्याक्सनका अधिकारीहरूले आफूहरूले पानीको आपूर्तिलाई निसंक्रमित पारिरहेको र त्यो पूरा हुन कति लामो समय लाग्छ थाहा नभएको बताएका छन् । टेक्ससका आठवटा समुदायहरूलाई शुक्रवार राति नै धारामा आउने पानीको प्रयोग शौचालयमा फ्लसका लागि बाहेक अन्य कामका लागि प्रयोग नगर्न भनिएको बीबीसीले जनाएको छ ।

त्यस्तो चेतावनी शनिवार बिहान लेक ज्याकसनबाहेक अरू सबै ठाउँमा हटाइयो । लेक ज्याक्सनमा २७ हजारभन्दा बढी मानिसहरू बस्छन् । त्यहाँका अधिकारीहरूले पछि मानिसहरूलाई पानी प्रयोग गर्न सकिने तर खानुअगाडि राम्ररी उमाल्नुपर्ने बताएका थिए ।

त्यहाँका बासिन्दालाई नुहाउँदा पानी नाकभित्र नपसोस् भनेर पनि सतर्क हुन भनिएको थियो । खासगरी बालबालिका, वृद्धवुद्धा र रोग प्रतिरोधी क्षमता कमजोर भएका मानिसहरू “जोखिममा रहेको” भन्दै सचेत गराइएको बीबीसीले जनाएको छ । अधिकारीहरूले आफूले पानी आपूर्ति हुने प्रणालीलाई सफा गरेको र त्यसपछि परीक्षण गरेर मात्रै पानी प्रयोग गर्न सुरक्षित छ भन्ने प्रत्याभूत गर्न चाहेको बताएका छन् ।

एकजना ६ वर्षीय बालकमा सूक्ष्म जीवको संक्रमणका कारण यो महिनाको शुरुमा मृत्यु भएपछि उक्त सहरमा पानी आपूर्तिको अनुसन्धान थालिएको सहरका व्यवस्थापक मोडेस्टो मुन्डोले संवाददाताहरूलाई बताए ।

नेग्लेरिया फाउलेरी प्राकृतिक रुपमा ताजा पानीमा मात्रै देखापर्छ र यो विश्वभरी नै भेटिन्छ । दूषित पानी नाकबाट शरीरमा र त्यसपछि दिमागमा पुगेपछि यसले मानिसलाई संक्रमण गर्छ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले मानिसहरू पौडिन वा ताजा पानीहरू पाइने ठाउँ (पोखरी–ताल)हरूमा हाम फाल्दा यो सङ्क्रमण देखिने जनाएको छ ।

दूषित पानी निल्दा मानिसहरूमा संक्रमण नहुने र मानिसबाट मानिसमा नसर्ने पनि सीडीसीले जनाएको छ । नेग्लेरिया फाउलेरीबाट संक्रमित हुनेहरूमा ज्वरो आउने, वाकवाकी लाग्ने, टाउको र गर्दन दुख्ने जस्ता लक्षणहरू देखापर्छन् ।

यो संक्रमण भएकाहरुको धेरैजसो एकसाताभित्र मृत्यु हुने बीबीसीमा उल्लेख छ । यो संक्रमण शुरुमा अमेरिकाको फ्लोरिडा राज्यमा यो वर्षको शुरुमा देखा परेको थियो । त्यतिबेला स्वास्थ्य अधिकारीहरूले धारा र अन्य स्रोतबाट आउने पानी प्रयोग गर्दा नाकबाट नछिरोस् भनेर सतर्क हुन मानिसहरूलाई आह्वान गरेका थिए ।

प्रकाशित : असोज ११, २०७७

प्रतिक्रिया दिनुहोस्