पन्जाबमाथि राजस्थानको कीर्तिमानी जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जीत हात पारेको छ । १३ औं संस्करणको आइपीएल क्रिकेटमा लगातार दोस्रो जीत निकाल्ने क्रममा राजस्थानले आक्रामक ब्याटिङको नमुना पेश गरेको हो ।

सारजाहमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै राजस्थानले लगातार दोस्रो जीत हात पारेको हो । पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

आइपीएलको इतिहासमा कुनैपनि टोलीले सर्वाधिक रनको लक्ष्य पूरा गरेको यो पहिलो खेल हो । राजस्थानको जितमा सन्जु सामसनले ८५ रन बनाए भने कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

राजस्थानका लागि राहुल टेवटियाले विस्फोटक ब्याटिङ गर्दै ५३ रन बनाए । टेवटियाले ३१ बलमा ७ छक्का प्रहार गरे । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेललाई एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामीले ३ विकेट लिए भने सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १–१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । उनी आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । उनले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।

मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरेका थिए । राहुलले ६९ रन बनाए ।
ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रन जोडे । राजस्थानका अंकित राजपुत र टम कुरानले एक एक विकेट लिए ।

जितसँगै राजस्थानले २ खेलबाट ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्