ओली–प्रचण्ड र देउवाबीचको भागबन्डामा तीन उपकुलपति नियुक्त



काठमाडौं : प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले एक वर्षपछि विश्वविद्यालयका रिक्त उपकुलपतिको पदपुर्ति गरेका गरेका छन् । ओलीले नेपाल संस्कृत विश्वविद्यालय दाङ र कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा आइतबार उपकुलपति नियुक्त गरेका छन् ।

संस्कृतमा प्रा.डा यादव लामिछाने र कृषिमा प्रा.डा. पुण्य रेग्मी उपकुलपति नियुक्त भएका हुन् । लामिछाने प्रधानमन्त्री ओली र रेग्मी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् ।

ओली र प्रचण्डबीच संस्कृतमा पूर्वएमाले, कृषिमा पूर्वमाओवादी र पोखरामा प्रतिपक्षी कांग्रेस कोटामा उपकुलपति नियुक्ति गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार दुई विश्वविद्यालयका उपकुलपतिले प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र बुझेको हुन् । पोखरामा भने कांग्रेस कोटामा प्रेमनारायण अर्याललाई उपकुलपति नियुक्त गरिने भएको छ। उनले भने नियुक्ति पाइसकेका छैनन् ।

यी तीन वटै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न सहकुलपति एवं शिक्षामन्त्रीको संयोजकत्वमा सिफारिस समिति रहने प्रावधान छ । सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने र ती मध्येबाट १ जनालाई प्रधानमन्त्रीले नियुक्ति दिने व्यवस्था छ ।

यी विश्वविद्यालय एक वर्षदेखि उपकुलपतिविहीन थिए । उपकुलपति सहितका पदाधिकारी नहुँदा नियमित कामकाज, बजेट, पठनपाठन, परीक्षा लगायतका शैक्षिक कार्यक्रम प्रभावित बनेको थियो ।

सिफारिस समितिले कृषि तथा वन विज्ञान विश्वविद्यालायमा रेग्मी, शारदा थपलिया र श्रवण साहको नाम सिफारिस गरेको थियो ।

दाहाल रेग्मी र प्रधानमन्त्री ओली थपलियालाई उपकुलपति बनाउने अडानमा थिए । उनीहरुबीच सहमति नहुँदा नियुक्तिमा ढिलाइ भएको हो । संस्कृतमा लामिछाने, रमेश ढकाल र भागवत नेपाल सिफारिसमा परेको थियो ।

प्रधानमन्त्री ओली लामिछानेलाई पोखराको उपकुलपति बनाएर कांग्रेसलाई संस्कृत विश्वविद्यालयको उपकुलपति दिने पक्षमा थिए । सिफारिस समितिले लामिछानेको नाम संस्कृतमा सिफारिस नगरेपछि कांग्रेस कोटामा पोखरा विश्वविद्यालय परेको हो ।

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि भने सुजनबावु मरहठ्ठा, देवराज अधिकारी र हेमराज सुवेदीको नाम सिफारिस भएको छ । शीर्ष नेताहरुको सहमतिअनुसार उपकुलपति नियुक्ति गर्न अर्यालको नाम सिफारिसमा नपरेका नियुक्ति पत्र दिन ढिलाई भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले अर्याललाई सोमबार नियुक्ति दिने आश्वासन दिएको छ । यी ३ विश्वविद्यालय २०७६ असोज ६ गतेदेखि उपकुलपतिविहीन थिए ।

सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा पनि गत फागुनमा राजनीतिक भागबन्डाकै आधारमा उपकुलपति नियुक्त गरिएको थियो । अब नेताहरुले संवैधानिक आयोगमा भागबण्डा मिलाउन बाँकी छ । संविधान बनेको पाँच वर्ष भइसक्दा पनि १३ संवैधानिक आयोगमा ३९ पद रिक्त रहेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्