सातै प्रदेशमा खानेपानी मन्त्रालयको छानविन टोली गठन



काठमाडाैं : खानेपानी तथा सरसफाइ मन्त्रालयले रकमान्तरबारे छानविन गर्न सात वटै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । मन्त्रालयमा आज बसेको बैठकले छानविन टोली गठन गरेको हो । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानविन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा भएको यथार्थ १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन पनि दिएको छ ।

 

 अनुगमनमा टोलीमा प्रदेश १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, गण्डकी प्रदेशमा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन् । त्यसैगरी प्रदेश ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, कर्णाली प्रदेशमा  प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र सुदूरपश्चिम प्रदेशमा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन् । अनुगमन टोलीले रकमान्तरका विषयमा अध्ययन र छानविन गर्नेछ ।

 

 खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुमा रकमान्तर भएको भन्ने समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक आह्वान गरेको हो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा बसेको बैठकले यथार्थ बिवरण आएपछि थप निर्णय लिने जनाएको छ ।

 

 मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशीघ्र छानविन टोली गठन गर्न खानेपानी मन्त्री बिना मगरले सचिव ठाकुरलाई निर्देशन दिएका थिए । रकमान्तरबारे थप रिपोर्ट आएपछि पुन: बैठक बसेर आवश्यक कारबाही गर्ने सचिव ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्