विराटनगरका १२१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण



विराटनगर : प्रदेश १ को राजधानी विराटनगरका १२१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कोभिड नियन्त्रण तथा रोकथाममा सक्रिय चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित हुने दरसमेत बढ्न थालेको छ ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार अग्रभागमा रहेर उपचारमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा संक्रमण देखिन गएको हो । महाशाखाका महानगरपालिका सम्बद्ध आठ स्वास्थ्यकर्मीसहित कोसी अस्पतालका ३१ जना, न्युरो अस्पतालका २० जना, विराटनगर अस्पतालका नौ, नोबेल मेडिकल कलेजका ३६ र मोरङ सहकारी अस्पतालका सात चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

गोल्डेन अस्पताल विराटनगरका तीन र बूढीगंगा गाउँपालिकाको विराट मेडिकल कलेजमा १६ चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो । तीमध्ये धेरैले कारोना संक्रमणबाट ठीक भई आफ्नो नियमित काममा समेत फर्किसकेका छन् । स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अग्रभागमा रहेर स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सकहरुमा संक्रमण हुने क्रम रहेको बताए । उनले भने, “स्वास्थ्यकर्मीमा खटिएका तर कोरोना लागेका धेरै ठीक भएर काममा पनि फर्किसक्नुभएको छ ।”

हालसम्म विराटनगरमा दुई हजार ५६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ५८४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बाँकी ९०३ जना होम आइसोलेसनमा छन् । महानगर आफैंले विराटनगरमा कोरोना संक्रमितको उपचार राख्‍नका लागि आइसोलेसन सञ्‍चालन गरिरहेको छ । कोरोनाबाट हालसम्म २० जनाको मात्र मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्