मन्त्री हेरफेर भागबण्डाबाट मिलाउन अध्यक्षद्वय बालुवाटारमा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ ।

छलफलका लागि प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल हुने भएको हो ।

६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गरेको थियो भने मन्त्रिपरिषद् पुर्नगठन दुई अध्यक्षको सहमतिमा गर्ने भनिएको थियो ।

त्यसयता बिहीबार, शुक्रबार र हिजो दुई अध्यक्षबीच छलफल भएपनि सहमति जुट्न सकेको छैन । केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा उनीरूबीच सहमति बन्न सकेको छैन ।

प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालयका केही सदस्यलाई समेत मन्त्रिपरिषदमा समेट्नुपर्ने पक्षमा रहेको बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने विषयमा अध्यक्षबीच छलफल भइरहेको निकट नेताहरूले बताएका छन् । विभिन्न विकल्पमा छलफल भएपनि उनीहरूबीच ठोस सहमति भने भएको छैन ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्