सप्तरीमा महिलाको हत्या



सप्तरीः घरमा कोही नभएको अवस्थामा सप्तरीमा एक महिलाको हत्या भएको छ ।

तिरहुत गाउँपालिका २ मेनाकडेरीकी ५० वर्षीया दयामनदेवी यादवको हत्या भएको हो । शनिबार राति सुतिरहेको ठाउँबाट उठाएर आँगनमा ल्याएर यादवको हत्या गरिएको प्रहरीले जनाएको छ ।

अज्ञात समूहले उनको घाँटीमा डोरी कसेर, अनुहार तथा टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कानको लोती छिनाइएको छ भने आँखामा गहिरो चोट देखिएको छ । आइतबार यादवको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए । उनका श्रीमान विराटनगरमा शिक्षण पेशा गर्छन् । एक छोरा दिल्ली र अर्का काठमाडौंमा बस्छन् ।

परिवारमा अन्य कोही नभएका कारण यादव एक्लै बस्थिन् । उनको के कारण हत्या भयो भन्ने खुलेको छैन । व्यक्तिगत रिसिइबीका कारण उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।

अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, प्रदेश २ प्रहरी कार्यालयबाट प्राविधिक सहितको टोली खटिएको छ । अहिलेसम्म हत्यामा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीको भनाइ छ ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्