काराबाख क्षेत्रमा गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु



बाकु : आर्मेनियाका पृथकतावादीहरुले नागोर्नी काराबाख क्षेत्रमा भएको संघर्षमा सोमबार आफ्ना अरु १५ जना लडाकू मारिएको जनाएका छन् । आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले गरेको कारबाहीमा हालसम्म ३९ जनाको ज्यान गइसकेको छ ।

विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीहरुबीच जारी लडाईं रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्तिमै असर पार्ने अनुमान गरिएको छ । यहाँ मध्यस्थता गराउन रुस र टर्कीले विशेष भूमिका खेल्न सक्ने बताइएको छ ।

पूर्व सोभियत आर्मेनिया र अजरबैजानबीच सन् १९९० को दशकको शुरुदेखि नै आर्मेनिया–समर्थित पृथकतावादीसँग नागोर्नी काराबाखको विषयलाई लिएर संघर्ष हुँदै आएको छ । यस वर्षको सुरुमा र सन् २०१६ मा पनि लडाई भएको थियो । रक्षा मन्त्रालयले काराबाखमा सोमबार ३२ जना सैनिकको ज्यान गएको जनाएको छ । गोलाबारीमा परेर आर्मेनियाली क्षेत्रतर्फ सात जनाको एउटा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ ।

आर्मेनियाली रक्षा मन्त्रालयले पहिलो रात र सोमबार बिहान भारी लडाई जारी रहेको जनाएको छ । अजरबैजानी सेनाले आइतबार अखडा जमाएको क्षेत्रलाई पुनः फिर्ता लिएको मन्त्रालयले दाबी गरेको छ । तर अजरबैजानले लडाईंमा आफू अझ अघि बढेको जनाएको छ ।

रक्षा मन्त्रालयले भनेको छ, “अजरबैजानी सेनाले रकेट–आर्टिलरी र लडाकू विमान प्रयोग गरेर आर्मेनियाली क्षेत्रमा हमला गरिहेको छ र टालेश गाउँको वरिपरिका धेरै रणनीतिक क्षेत्रलाई नियन्त्रणमा लिएको छ ।”

प्रतिक्रिया दिनुहोस्