विभाग विघटन गर्न देउवालाई पौडेलको एक हप्ते अल्टिमेटम



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने उनको चेतावनी छ ।

देउवाले गठन गरेका विभिन्न विभाग तत्काल खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखसी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै आएको माग सुनुवाई नभएपछि पौडेलले महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी कार्यालयमा ज्ञापनपत्र दर्ता गरेका छन् ।

दर्ता गरिएको ज्ञापनपत्रमा पार्टीलाई विधानसम्मत संचालन गरी १४औं महाधिवेशन स्वच्छ, निश्पक्ष गर्ने वातावरण सृजना गर्न आग्रह गरिएको छ । ‘आगामी केन्द्रीय कार्यसमितिको बैठकसम्म न्यायपूर्ण र विधिसम्ममत समाधान गर्नेतर्फ गम्भीरता र तदारुकता देखाउनु भएन भने वैधानिक संघर्षका विरोध कार्यक्रम गर्न बाध्य हुनेछौं’ ज्ञापन पत्रमा भनिएको छ ।

पौडेल समूहले यो ज्ञापन पत्रमा कृष्ण सिटौला समूहका चार केन्द्रीय सदस्यलाई पनि हस्ताक्षर गराउन चाहेको थियो । तर सिटौलाले हस्ताक्षर नगर्ने बताएपछि पौडेल समूहका २७ जनाले मात्र हस्ताक्षर गरेका छन्

प्रतिक्रिया दिनुहोस्