बालिका बलात्कार गरी हत्या गर्नेलाई मृत्युदण्ड दिने कानुन बनाउन महिला सांसदको माग



काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरुले १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरी हत्या गर्ने दोषीलाई मृत्युदण्ड दिने कानुन बनाउनका लागि पहल गर्नुपर्ने बताएका छन् ।

सोमबार संघीय संसद सचिवालय सिंहदरबारमा पछिल्लो पटक बालिकाहरूमाथि भएका बलात्कारपछि हत्याका घटनाबारे छलफल गर्दै महिला सांसदहरुले अपराधीलाई मृत्युदण्डको कानुन बनाउनुतर्फ अग्रसर हुनुपर्ने बताएका हुन् ।

उनीहरुले संविधानमा कसैलाई पनि मृत्युदण्डको सजाय गर्नु नहुने व्यवस्थालाई परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सन्धिहरू बाधक रहेमा तिनलाई पनि आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने उनीहरुले बताएका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसकी प्रतिनिधिसभामा सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुनी व्यवस्था राख्नुपर्नेगरी अगाडि बढ्नुपर्ने बताइन् । यसका लागि हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता त परिमार्जन गर्न सकिने बताइन् ।

यसैगरी नेकपा सांसद शान्ता चौधरीले पनि सबै मिलेर कानुनी कडाइको व्यवस्था गर्नुपर्ने बताएकी छन् । उनले बलात्कारको घटना नभएको कुनै दिन छैन । दिनमा ७ वटा त मुद्दा नै दर्ता हुने गरेका सूचना छन् ।

‘मृत्युदण्डको कानुन बनाउन कत्तिको सहज छ ?’ उनले भनिन्, ’अपराधिक मानसिकता बोकेकाहरूलाई एकखालको झट्का लाग्नेगरी मृत्युदण्डको कानुन हुन्छ कि, लिंग छेदन गर्ने हुन्छ कि के गर्न सकिन्छ बनाऔं । उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन ।’

जनता समाजवादी पार्टीकी सांसद प्रमिलाकुमारीले निर्माला पन्त बलात्कार र हत्याकाण्डदेखि अहिलेसम्म सैयौं बलात्कारका घटना भएका तर न्याय नभएको बताइन् । उनले पनि १६ वर्ष मुनिकालाई बलात्कार गरिएको छ भने मृत्युदण्डको कानुन बनाउनुपर्ने बताइन् ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्