ओली-प्रचण्ड छलफल सकियो, मन्त्रिपरिषद पुनर्गठनमा भएन सहमति



काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद पुनर्गठनबारे भएको छलफल टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको छलफल बिना निष्कर्ष टुंगिएको हो । आइतबार पनि दुई अध्यक्षबीच यही विषयमा छलफल भएको थियो । दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रिपरिषद पुनर्गठन केही ढिलो हुने अनुमान गरिएको छ । प्रधानमन्त्री ओलीले १-२ दिनमै मन्त्रिपरिषदको पुनर्गठन गर्न चाहेको श्रोतको भनाइ छ ।

प्रधानमन्त्रीनिकट एक स्थायी कमिटी सदस्यले भने आज-भोलिमै मन्त्रिपरिषद पुनर्गठन हुने बताएका थिए । प्रधानमन्त्री ओलीले टुक्र्याइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको प्रचण्ड निकट श्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले ३ वटा मन्त्रालय थप्ने तयारी गरेका छन् भने ३ मन्त्रालय खाली छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका लागि केही समय कुर्नु पर्ने धारणा राखेका छन् । ओलीनिकट स्रोतका अनुसार प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउन चाहेका छन् ।

गौतमबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । २ अध्यक्षबीच मन्त्रीहरूको संख्या बाँडफाँटमासमेत कुरा मिलेको छैन । २४ ओटा मन्त्रालय बनाइएमा कम्तिमा १० ओटा मन्त्रालय पूर्वमाओवादीले पाउनु पर्ने अडानमा प्रचण्ड छन् । तर प्रधानमन्त्री ओली भने पूर्वमाओवादीलाई मन्त्रालय थप्ने पक्षमा नरहेको स्रोतको दाबी छ । अहिले पूर्वमाओवादीबाट ७ जना मन्त्री छन् ।

अहिलेका धेरै मन्त्री हटाउन प्रधानमन्त्री तयार हुना साथ मन्त्रिपरिषद पुनर्गठन भइहाल्ने प्रचण्ड निकट एक नेताले बताएका छन् । उनले भने,‘सबै विकल्पबारे छलफल भएको छ । अहिले दुई अध्यक्षकै तहमा छलफल भएकाले धेरै कुरा बाहिर आएको छैन,’ प्रचण्ड निकट ती नेताले भने,‘हामीले यस्तो नै भएको छ भनेर भन्नलाई त्यस्तो उल्लेख्य केही छैन ।’

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्