एकै दिन ७ जनाको शव फेला



नेपालगन्ज : प्रदेश ५ का विभिन्न जिल्लाहरूमा फरक-फरक घटनामा ७ जनाको शव फेला परेको छ ।

रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा आइतबार ७ जनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार वैदवारका अनुसार रुपन्देहीको देवदह नगरपालिका वडा नं. १२ कनपरास्थित रोहिणी खोला किनारमा महिलाको शव भेटिएको हो ।

अन्दाजी ५०-५५ वर्षको उमेरको जस्तो देखिने शव सडेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । रुपन्देहीकै सैनामैना नगरपालिका वडा नं.४ का ५७ वर्षीय कृष्ण बहादुर थापा जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी दोभान पाल्पाको टोलीले थापाको शवलाई पाल्पाको तिनाउ गाउँपालिका वडा नं.१ झिंगामारास्थित जंगलमा फेला पारेको थियो । बुटवल उपमहानगरपालिका वडा नं. ६ शान्तिनगरस्थित तिनाउ खोलाको किनारमा नवजात शिशु (बालिका) को शव फेला परेको छ ।

अन्दाजी ५-६ महिनाको जस्तो देखिने उक्त शिशुको शव प्लाष्टिकमा पोका पारेर फालेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं.४ फर्साटिकरमा एक जना पुरूषको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय राधा आचार्यको निर्माणाधीन घरमा प्लाष्टर गरिरहेका शुद्धोधन ३ दोगाना बस्ने ४० वर्षीय तारा सिंह थारुले बिजुलीको नांगो तार छुन पुग्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएकोमा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ मा डेन्टल अस्पताल नजिकै गजेन्द्र भण्डारीको घरको रेलिङ वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १९ वर्षीय धनबहादुर थारु छन् ।

करेन्ट लागेपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२ को बसपार्कस्थित लक्ष्मी हार्डवयर नजिकै अन्दाजी ६०-६५ वर्षको पुरूषको शव फेला परेको छ ।

मधेशी मूलको जस्तो देखिने उक्त शव कस्को हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.५ मा जगतियामा आफ्नै माछा पोखरीमा डुबेर १३ वर्षीय बालिकाको मृत्यु भएको छ । स्थानीय पञ्चराम थारुको १३ वर्षीया छोरीको घरदेखि एक किलोमिटर पूर्व रहेको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्