बीपी राजमार्ग सुधारका लागि जापानद्वारा एक अर्ब सहयाेग



काठमाडौं : अाफै‌ंले बनाएकाे बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई जापानले १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ ।

 

सहयोगसम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर भएको छ । अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

 

१ सय ६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को भूकम्पका कारण क्षति पुगेको छ । काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाएकाे हाे । 

 

कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको अनुदान सहायता भएको जानकारी दिए र यसलाई पूरा गर्न २० वर्ष लागेको बताए ।

 

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्‍याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्