बलात्कारको घटना मिलापत्र गराउनेलाई कडा कारबाही गर्न गृहमन्त्री थापाको निर्देशन



काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटना मेलमिलाप गराउनेलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

मतियारको रुपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई आफुले निर्देशन दिएको उनले बताएका हुन् । आज बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलात्कार जस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठुलो अपराध भएको बताए ।

उनले मिलापत्र गराउनेहरुलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संसोधन गरिने बताए । उनले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको पनि बताए ।

सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरी सकेको र मिलापत्र गराउने कार्यमा संलग्नलाई कारबाही अघि बढाएको बताए ।

ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलत्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही, पिडीतलाई उपचार, सुरक्षा र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

प्रकाशितः १२ असोज, २०७

प्रतिक्रिया दिनुहोस्