खोटाङका ४८ विद्यालयमा जोर–बिरोज प्रणाली अनुसार पठनपाठन शुरु



दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर–बिजोर प्रणाली अपनाएर पठनपाठन शुरु गराएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।

यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ ।

दिनानुदिन कोरोना संक्रमण बढिरहेको तथा स्वास्थ्य संकट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको छ ।

विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोर–बिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताए ।

उनका अनुसार भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाएको छ विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा बढीमा दुई जनालाई मात्र राख्ने व्यवस्था गरेर पठनपाठन शुरु गरिएको उनले बताए ।

सात वडा रहेको उक्त गाउँपालिकाका ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन् । गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निर्णय गरेको थियो ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्