काठमाडौं : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको झगडा मिलेपछि मन्त्रिपरिषद् हेरफेर र विस्तारका लागि दौडधुप बाक्लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी खेमाका दुई जना व्यक्तिलाई मन्त्रिपरिषदमा राख्न खाजेको देखिन्छ । मन्त्रिपरिषदमा ६, ७ जना मात्र हेरफेर गर्न पाए हुन्थ्यो भन्ने प्रधानमन्त्रीको चाहना देखिन्छ ।
पार्टी फुटको संघारमा पुग्दा आफूलाई सघाएका नेता टोपबहादुर रायमाझी र जनार्दन शर्मालाई ओलीले मन्त्री बनाउन खोजेको बुझिएको छ ।
यसो गर्दा केही मन्त्रीका पद धरापमा छन् । तीमध्ये भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री गिरिराजमणी पोखरेलसमेत पर्नेछन् ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने नारायणकाजी श्रेष्ठ र बामदेवलाई मन्त्री बनाउने पक्षमा छन् । भर्खर सांसद बनाइएका बामदेव गौतमलाई भने तत्काल मन्त्री बनाउन सर्वोच्च बाधक बनेपछि केही समय पर्खनुपर्ने भएको छ ।
सर्वोच्चले बाटो खोलेदेखि बामदेवको नजर अर्थमन्त्रालयमा छ । तर प्रधानमन्त्री यसमा सकारात्मक छैन । ओली उपप्रधानमन्त्री ईश्वर पोखरेललाई नै निरन्तरता दिएर अरू केही मन्त्री फेर्ने मनस्थितिमा छन् भने अर्का अध्यक्ष प्रचण्डले उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूलाई सरकारमा पठाउन चाहेका छन् ।
प्रचण्डको चाहनामा वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समेत साथ छ ।
उपाध्यक्ष गौतमलाई सरकारमा ल्याउँदा उपप्रधानमन्त्री नै दिनुपर्ने र त्यसले अहिलेको समीकरणमै असर पुर्याउने भएकाले सचिवालयका अरू सदस्यहरूलाई सकभर मन्त्रिपरिषद्मा सामेल नगर्ने मनस्थितिमा ओली रहेको उनीनिकट स्रोतको भनाइ छ ।
प्रकाशित : असोज १३, २०७७