धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगरबा बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि नोबेल मेडिकल कलेजमा भर्ना भएका ती पुरुषमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएको थियो । अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

उनी प्रतिष्ठानमा असोज १० गते बिहान ७ बजे भर्ना भएका थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । तर, उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्