सहमतिपछि लुम्बिनी नगरपालिकाको ताला खुल्यो



रुपन्देही : सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि सोमबार साँझ करीब ७ बजे कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टी (जसपा)का नगर अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका संयोजक अब्दुल मोविन खानले जानकारी दिए ।

शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र मार्क्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका थिए । ताला खुलेपछि आजदेखि कार्यालयको काम सञ्चालनमा आएको प्रमुख मनमोहन चौधरीले बताए । दलहरुले शिक्षा ऐन संशोधनसँगै छाडा चौपाया व्यवस्थापनको मागसमेत गरेका थिए । नगर प्रमुख चौधरीले छाडा चौपाया नियन्त्रणका लागि नगरपालिकाले प्रयास गरिरहे पनि स्थानीयवासीको सहयोग भए नियन्त्रण सम्भव भएको बताए ।

दलहरुले अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्न पाउनुपर्ने प्रावधान यथावत् राख्न गत फागुनमै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । नगरपालिकाले कार्यपालिकाबाटै शिक्षा ऐन संशोधन गरी अगाडि बढाउने निर्णय गरे पनि नगर परिषद्बाट पारित हुनुपर्ने भएकाले सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्