भक्तपुर नपामा ७५ शय्याको आइसोलेसन केन्द्र



भक्तपुर : भक्तपुर नगरपालिकाले कोरोना सङ्क्रमित आफ्ना नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ७५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याई कोरोनाका १० सङ्क्रमितलाई राखेको छ । थप विरामी थपिने क्रम जारी छ ।

नगरपालिकाले अहिलेसम्म खरिपाटीस्थित विद्युत् प्राधिकरणको आइसोलेसन सेन्टर र भक्तपुर अस्पतालमा सङ्क्रमितलाई पठाउँदै आएकोमा अब भने आफ्नै आइसोलेसन केन्द्रमा राख्न शुरु गरेको हो ।

“भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी छ तर पनि अवस्था पहिलाको जस्तो रहेन, पहिला व्यक्ति व्यक्तिमा फाटफुट देखिने सङ्क्रमण अहिले सिङ्गो परिवारमा फैलिएको छ, समुदायमा फैलिएको छ”, नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भने, “अब खरिपाटीको आइसोलेसन केन्द्र र भक्तपुर अस्पतालको मात्रै भर परेर हुँदैन, त्यहाँ ठाउँ नहुने अवस्था आइसक्यो भनेर हामीले हाम्रा सङ्क्रमित नागरिकलाई राख्न आफैँले आइसोलेसन केन्द्र तयार पारेका हौँ ।”

सरकारले निर्धारण गरेको मापदण्ड पूरा गरेर तयार पारिएको आइसोलेसन सेन्टर सञ्चालनमा आउनुपूर्व गत शुक्रबार नगर प्रमुख प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायतको टोलीले अवलोकन गरेको थियो ।

आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतीलाई राख्ने कक्ष र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मी बस्ने गरी तयारी गरिएको आइसोलेसन व्यवस्थापन समितिका संयोजक रवीन्द्र ज्याख्वाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्