ओली र प्रचण्डबीच बालुवाटारमा छलफल



काठमाडौं : नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ । केही बेरअघि बालुवाटारमा सुरु भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको बताइएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर, छलफल टुङ्गोमा पुग्न सकेको छैन । प्रधानमन्त्री ओली र प्रचण्डबीच मोडालिटीमै कुरा नमिलेको नेकपाका नेता हरिबोल गजुरेल बताउँछन् । कसलाई राख्ने र कसलाई हटाउने भन्नै दुई अध्यक्षको मत बाझिएपछि छलफल निष्कर्षविहीन बनेको बालुवाटारनिकट स्रोत बताउँछ । मन्त्रिपरिषद् पुनर्गठनमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बाधक बनेका छन् ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई मन्त्री बनाउनुपर्ने पक्षमा छन् । तर, ओलीले अदालतमा मुद्दा नै परिसकेकाले बनाउन नहुने पक्षमा छन् ।
वामदेवविरुद्धको मुद्दाको पेसी भोलि अर्थात् असोज १४ गतेलाई तोकिएको छ । भोलि सुनुवाइ हुने सम्भावना रहेकाले त्यसपछि मात्रै पुनर्गठन गर्नुपर्ने तीन नेताको अडान छ ।

प्रतिक्रिया दिनुहोस्