सर्लाहीका १६ वटा क्रसर उद्योग बन्द



सर्लाही : गैरकानुनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् ।

वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड– २०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एंव प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

उनले भने, “जिल्ला प्रशासन कार्यालयबाट मापदण्ड पुगेको प्रमाणित भएपछि स्थलगत अनुगमन गरी सञ्चालन गर्न दिने तर अहिले अनिश्चितकालका लागि जिल्लाका हाल सञ्चालनमा रहेका आठ वटा र बन्द अवस्थामा रहेका तर सञ्चालनको तयारी गरिरहेका आठ वटा गरी १६ वटैलाई बन्द गरेका छौं ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक मार्ग, विद्यालय, स्वास्थ्य संस्था, क्षेत्र, ठूला नदी, पुल, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउने कुनै पनि कार्य गर्न नपाइने उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्