नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला



काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । साथै नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

जसअनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ । उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ ।

पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने शर्त राखिएको छ ।

यसैगरी नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ भने सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ । कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने भएको छ ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ ।

क्वारेन्टाइनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने गरी प्रावधान बनाइएको छ । नेगेटिभ नआएसम्म भने होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको छ ।

त्यस्तै नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाखको कोरोनासम्बन्धी बिमा अनिवार्य गर्नुपर्ने छ ।

नेपालमा पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्