पोखरा–जोमसोम हवाइ उडान पुनः सूचारु गराउन पहल शुरु



जोमसोम : विगत ७ महिनादेखि बन्द रहेको पोखरा–जोमसोम हवाइ उडान पुनः सूचारु गराउन पहल शुरु भएको छ ।

महामारीको रुपमा फैलिएको कोरोनाका कारण बन्द रहेको पोखरा–जोमसोम हवाई उडान पुनः सूचारु गराउन मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टसहितको टोलीले सोमबार तारा एयरलाइन्स र समिट एयरलाइन्स् कम्पनीलाई पोखरामा यस्तो प्रस्ताव बुझाएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असोज १ गते देखि मुलुकभर आन्तरिक हवाई उडान तथा लामोदुरीको यातायात आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नसक्ने जनाए पनि पोखरा–जोमसोम हवाई उडान अझै सञ्चालनमा आउन नसकेको हो ।

सरकारको निर्णय बमोजिम मुस्ताङमा पनि हवाई उडान सञ्चालनमा ल्याउन सोमबार एयरलाइन्स कम्पनीका पोखरा प्रतिनिधिबीच छलफल तथा प्रस्ताव पेश गरिएको थियो ।

पोखरामा भएको छलफलमा संघीय सांसद तुलाचन र प्रदेश सांसद बिष्टले ताराएयर कम्पनीका पोखरा कार्यालय प्रमुख राम लामिछाने र समिट एयर कम्पनी पोखराका कार्यालय प्रमुख पोषण त्रिपाटी लगायतसँग हवाई उडान सूचारु गराइदिन प्रस्ताव गरेका हुन् ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्