नेकपाको सचिवालय बैठक जारी– तल्ला कमिटी एकीकरणबारे महत्वपूर्ण निर्णय हुने



काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।  जारी बैठकमा तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कारवाहीको समीक्षाका साथै स्थायी कमिटी बैठकका एजेण्डा तय लगायतका विषयमा छलफल केन्द्रीत रहेको एक नेताले बताए । 

 

बैठकमा प्रचण्डको शुक्रबार दिल्ली जाने कार्यक्रमबारे पनि छलफल हुने बताइएको छ । सचिवालयका ती नेताका अनुसार आजको बैठकले केहि मुद्धामा महत्वपूर्ण निर्णय गर्ने सम्भावना पनि छ ।

 

यसअघि कार्तिक, गत आइतबार र सोमबार बसेको सचिवालय बैठक कुनै एजेण्डामा प्रवेश गर्न सकेको थिएन । ती बैठक नेताहरुले असन्तुष्टि पोख्दैमा बितेको थियो । यस्तै बुधबार ३ बजेका लागि बस्ने भनिएको बैठक पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकोे कार्यव्यस्तको कारण देखाउँदै आजसम्मको लागि स्थगित भएको थियो । 

 

पार्टी एकताको पाँच महिना वितिसक्दा पनि प्रदेश, जिल्ला र जनवर्गिय संगठनको एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा अन्योलता बढेको छ । नेकपाले केन्द्रीय विभागहरु, पोलिटव्यूरो र अन्य कमिटीहरु पनि गठन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्