प्राविधिकरणले २५ प्रतिशत जरिवाना लिएको विरोधमा वीरगञ्जमा प्रदर्शन



पर्सा : विद्युत प्राविधिकरण वीरगञ्ज वितरण केन्द्रले लकडाउनमा पनि २५ प्रतिशत जरिवाना असुलेको भन्दै जनता समाजवादी पार्टी पर्साले विरोध प्रदर्शन गरेको छ । मंगलबार समाजवादी पार्टी निकट वीरगञ्ज नगर समितिले प्राधिकरणको मुलगेटमा धर्ना दिँदै प्रदर्शन गरेको हो ।

बिहान १० बजेदेखि ११ बजेसम्म आयोजना गरिएको विरोध प्रदर्शनमा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य जन्नत अंसारी र जिल्ला समन्वय समितिका अध्यक्ष नेकमहमद मियाँले लकडाउन अवधि भरिको विद्युत महसुलमा अनावश्यक जरिवाना लिन पाईदैनलगायत नारा लेखिएको प्लेकार्ड बोकी नाराबाजीसहित धर्ना दिएका हुन् ।

प्राधिकरणले लकडाउन खुलेको लगत्तै उपभोक्तालाई २५ प्रतिशत जरिवाना असुल गरेपछि प्राधिकरणको चौतर्फी विरोध हुन थालेको थियो । २५ प्रतिशत जरिवाना, अव्यवस्थित पार्किङ्ग र विद्युत कटौती गर्न थालेपछि समाजवादी पार्टीले विरोधमा उत्रेको हो ।

No description available.

पार्टीका नेता एवं सासद प्रदीप यादवले लकडाउनबाट प्रभावित जनतालाई प्राधिकरणले विद्युत महशुलमा छुट दिनुपर्नेमा उल्टै २५ प्रतिशत जरिवाना असुल उपर गरेको र अघोषित रुपमा लोडसेटिङ गरेको भन्दै त्यसको विरोधमा प्रदर्शनमा उत्रिएको बताए ।

सर्वोच्च अदालतले लकडाउनलाई जिरो आवर मानेको छ । तर, विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनबाटै विद्युत महशुलमा २५ प्रतिशत जरिवाना लिएर पर्सवासीलाई अनावश्यक दुःख दिइरहेको उनले बताए ।

No description available.

सांसद यादवले विद्युतको पैसा बुझाउन एक महिना समय दिनुपर्ने, २५ प्रतिशत जरिवाना अर्को बिलमा मिलान गर्नुपर्ने छ, होईन भने विद्युत प्राधिकरण बिलिङ शाखामा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी समेत दिए ।

समाजवादी पार्टीका वीरगन्ज नगर कमिटीका अध्यक्ष ईश्वर यादवको नेतृत्वमा भएको विरोध तथा धर्ना कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य पुरुषोत्तम उपाध्याय, जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वडा नम्बर १२ का वडा अध्यक्ष तुफान अंसारी, युवा नेता सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले पनि लकडाउन अवधिभरको महशुलमा जरिवाना लिएको भन्दै विरोध लगाउँदै प्राविधिकरण प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको नेतृत्वमा रहेको टोलीले प्राधिकरण प्रमुख शम्भु कुर्शैत यादवलाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब लिएको महशुल मिनाहा गर्न माग गरे ।

लकडाउनबाट प्रभावित भईरहेको बेला विधुत प्राधिरणको कारण थप प्रभावित हुन पुगेको भन्दै यथाशिघ्र महशुलमा लगाईएको जरिवाना मिनाहा गर्न अध्यक्ष सहाबुदिनले माग गरे । उनले भने, ‘लकडाउन अवधिभरको जरिवानामा मिनाहा र असुल गरिसकेको जरिवानालाई समेत अर्को बिलमा मिनाहा नगरे प्राविधिकरणविरुद्ध कारवाहीको लागि कानुनी प्रक्रियामा जाने छौ ।’

यता प्राधिकरण वितरण केन्द्रका प्रमुख शम्भु कशेत यादवले बिलिङ सिस्टम सेन्ट्रल नै भएकोले आफूले बढी वा कम, वा जरीवाना लिन सक्ने अवस्था नरहेको बताए । उनले भने, ‘भदौ २३ गतेबाट निषेधाज्ञा कुखुलो भएपछि भदौ २५ गतेदेखि विद्युत महसुल काउण्टर सञ्चालनमा ल्याएका हौं । असोज १५ गतेसम्म महशुल भुक्तानीमा जरिवाना नलाग्नुपर्नेमा बिलिङ सिस्टममा प्राविधिक त्रुटि हुन गई जरिवाना लिएको उनले बताए ।

वीरगञ्ज, सिमरा लगायतका तीन वटा काउन्टरमा प्राविधिक समस्या देखिएकोले असोज १५ गतेभित्र विद्युत महसुल भुक्तानी गरेका ग्राहकसँग लिइएको जरिवाना रकम अर्को महिनामा मिलान गरिने उनले बताए ।

प्रकाशित : असोज १३, २०७७

प्रतिक्रिया दिनुहोस्