धनुषामा राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क संकलन कार्य शुरु



जनकपुरधामः धनुषामा राष्ट्रिय परिचयपत्रका लागि तथ्यांक संकलनको कार्य शुरु भएको छ ।

गत वैशाखदेखि नै सुरु गर्ने भनिएको राष्ट्रिय परिचय पत्र तथ्यांक संकलन कार्य कोरोना महामारीका कारण ६ महिना ढिलोगरी सुरु भएको हो ।

असोज ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा तथ्याङ्क संकलनको कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिए ।

असोज ६ गतेदेखि अहिलेसम्ममा १ सय ९८ जनाको तथ्याङ्क संकलन भइसकेको उनले जानकारी दिए । उनले भने,‘लकडाउनका कारण तथ्याङ्क संकलनको कार्य केही ढिलो सुरु गरिएकोले म्याद तोकिएको छैन् । यो कार्य निरन्तर चलिरहनेछ ।’

उनले विवरण संकलन गरेर पठाउने जिम्मेवारी मात्र आफुहरुको रहेको बताउँदै परिचयपत्र वितरण कार्य राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट हुने भएकोले वितरणको यकिन मिति भन्न नसकिने जानकारी दिए । तथ्याङ्क संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा छुट्टै इकाई गठन गरिएको छ । त्यसका लागि विभागबाटै दुई जना कर्मचारी खटाइएको छ । तथ्याङ्क संकलनमा सहजीकरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइराला र अधिकृत मिश्रलाई जिम्मेवारी दिइएको छ ।

५ वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल सरकारले २०७५ मंसिरदेखि सिंहदरबार र पाँचथरबाट राष्ट्रिय परिचय पत्र वितरणको शुरुवात गरेपनि सबै जिल्लामा कार्य प्रारम्भ अहिलेसम्म पनि भएको छैन् । यस वर्ष सरकारले एक करोड नागरिकको डाटा संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्