सम्पत्तीको लोभमा सन्तानको माया बिर्सिन सकिन्छ त ?



जनकपुरधाम : एउटा दम्पतीका लागि परिवारका सबै सदस्यहरु एक समान हुन्छन् । बुवाआमाको प्रेमको तुलना अन्य कसैको प्रेमसंग गर्न सकिदैन । तर जनकपुरधाममा बुवा र छोरा बिचको सम्बन्धलाई दाग लगाउने घटना पछिल्लो समय चर्चा पाइरहेको छ । जनकपुरधामको एक मारवाडी परिवारमा बुवा सम्पत्तीको लोभी र एक सन्तानप्रतिको अधिक मोह तथा अर्का सन्तानलाई चिन्न नै अस्वीकार गरेपछि विवाद चुलिएको हो ।

सम्पतिका लागि भाई भाई बिच विवाद भएको, अदालतमा मुद्दा मामिला भएको घटना अचेल सामान्य भईसकेको छ तर बुवा र छोरा बिच सम्पतिकै लागि भएको विवाद अदालतसम्म पुग्नु पत्यारिलो नलाग्न सक्छ । यद्यपि जनकपुरधामको एक मारवाडी परिवारमा यस्तै विवाद देखिएको छ ।

विवादको मुल जड भने सम्पति नै रहेको छ । बुवा छोरा बिचको यो विवाद जनकपुरधाम उपमहानगरपालिका वड़ा नम्बर ५ को हो । गोविन्द प्रसाद मारवाडी र श्रवण कुमार मारवाडी दाजुभाई हुन् । गोविन्दलाई दुई छोरा तथा दुई छोरी त भयो तर श्रवणको कुनै सन्तान भएन । श्रवणलाई सन्तान नभएपछि आफ्नै भाई गोविन्दको कान्छो छोरा रोहित हिसारियालाई सहमति मै बुढेसकालको सहारा बनोस भन्ने उद्देश्यका साथ धर्मपुत्र बनाए ।

श्रवणले भाई गोविन्दको छोरा रोहितलाई धर्मपुत्र बनाएको प्रमाण समेत छ । मालपोत कार्यालयमा यसका लागि २०४९ साल जेठ ६ गते ५२० रुपैयाँको रसिद समेत काटिएको छ । यद्यपि रोहितको जन्मदर्तामा बुवाको नाम गोविन्द प्रसाद मारवाड़ी र आमाको नाउँ राधा देवी नै उल्लेख गरिएको छ ।
श्रवणले रोहितलाई धर्मपुत्र बनाएपछि अध्ययनका लागि आफूसंगै भारतको सीतामढी जिल्लास्थित पुपरी लगे । भारतमै रोहितले शिक्षा आर्जन गरे । यस अवधिमा गोविन्द मारवाडी र श्रवण मारवाडी बिचको सम्बन्ध सुमधुर नै थियो । केही वर्ष अघि श्रवण मारवाडी र उनको श्रीमती रजो देवीको मृत्यु भयो । श्रवणको मृत्यु संस्कारसम्म सबैथोक ठीकठाक नै थियो ।

श्रवण र उनको श्रीमती रजो देवीको मृत्यु पछि उनको नाउँमा रहेको जग्गा जमिन तथा सम्पति धर्मपुत्र रोहितको नाउँमा जाने भएपछि विवाद सुरु हुन पुग्यो । श्रवणको सबै सम्पति रोहितको नाउँमा मात्रै हुने देखेपछि उनकै पिता गोविन्दको मनमा सम्पतिप्रतिको मोह सन्तानमोहभन्दा बढी हुन पुग्यो । श्रवण मारवाडीको नाउँमा रहेको जग्गा जमिनमध्येको अंश ठुलो छोरो कन्हैया हिसारियालाई पनि दिन गोविन्दले रोहितलाई कर गरे । तर रोहितले त्यो कुरा स्वीकार नगरेपछि यो विवाद झनै बल्झिएको छ ।

सोही जग्गा विवादका कारण अहिले गोविन्द मारवाडी र कन्हैया हिसारिया रोहितलाई चिन्न समेत अस्वीकार गरिरहेका छन् । यस बिचमा गोविन्दले भाई श्रवण निसन्तान रहेको तथा आफ्नो कन्हैया मात्रै सन्तान रहेको भन्दै सबै सम्पति आफ्नो नाउँमा गराएका छन् ।

श्रवणको नाउँमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ मा सिट नम्बर १३५६-१६ कित्ता नम्बर १६२ को ०-१-१०-० र वडा नम्बर-५ मा सिट नम्बर १३५५-२४ कित्ता नम्बर ८४ को ०-०-२-३१-२ जग्गा दर्ता भएको लालपुर्जा पनि छ ।

२०७५ साल भदौ १६ गते श्रवण कुमार मारवाडीका पत्नी रजो देवी मारवाडीको मृत्यु भयो र त्यसको एक वर्ष नबित्दै श्रवणको पनि २०७६ माघ २ गते मृत्यु भएपछि सम्पतिको लोभमा आफ्नै सन्तान बिरुद्ध जाइ लागेका छन् ।

अहिले यो अंश विवाद जिल्ला अदालत धनुषासम्म पुगेको छ । अंश मुद्दामा आफूलाई गोविन्दप्रसादको एक मात्र छोरा तथा श्रवण कुमार निसन्तान रहेको देखाएर सो जग्गामा हकदावी गरेको श्रवणका धर्मपुत्र रोहितले बताए । रोहितले भने,‘मेरो हक हुनुपर्ने करोडौँ मूल्यबराबरको सम्पत्ति झूठा तथ्यहरू देखाएर कन्हैयाले प्राप्त गरेका छन् । उनीहरुले पैसा खर्चेर अदालतलाई समेत झुक्याउन खोजिरहेका छन् ।’

कानूनी रुपमा धर्मपुत्र रोहितकै नाउँमा सो जग्गाको नामसारी हुनुपर्ने भएपनि उनकै दाई कन्हैया हिसारिया र बुवा गोविन्द मारवाडीले रोहित हिसारिया अनाथ रहेको भन्दै जग्गामा दावी गरेका छन् । यता गोविन्दले आफ्नो नाउँमा रहेको सम्पतिमा समेत रोहितलाई अंश दिएका छैनन् ।

यता रोहितले आफू गोविन्द मारवाडीकै सन्तान रहेको सिद्ध गर्न डीएनए परिक्षण गराउन समेत तयार रहेको बताए । यो जग्गा विवादमा भने गोविन्द प्रसादको जेठी छोरी र कन्हैया तथा रोहितको दिदी रश्मिले भाई रोहितको बचाव गरेकी छिन् । उनले भाई रोहितसंग बुवा गोविन्द र भाई कन्हैयाले ठूलै अन्याय गरिरहेको आरोप लगाएकी छिन् । उनले आफ्नो भाई रोहितलाई सहयोग गर्नका लागि सम्बन्धित निकायसंग अपिल समेत गरेकी छन् ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्