५ लाख लुटेको आरोपमा २ जना पक्राउ



काठमाडौं : अमेरिकन डलर सस्तोमा साट्ने प्रलोभनमा पारी ५ लाख रुपैयाँ लुटेर फरार भएको आरोपमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।

पक्रउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ घर भई हाल भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र सोही ठाउँका २१ वर्षीय निर्मल भण्डारी रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले आज (मंगलबार) बिहान चाँगुनारायण नगरपालिका ८ स्थित रातोपाटीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ३ लाख ३१ हजार नेपाली रुपैयाँ, ८ थान अमेरिकी डलर, एक थान मोटरसाइकल र २ थान मोबाइल बरामद भएको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवैमाथि थप अनुसन्धान भैरहेको छ ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्