युद्ध अभ्यास गरिरहेका अमेरिकी सैनिकको पोशाकमा चीनको नक्सा



बेइजिङ : क्यालिफोर्नियामा सैन्य अभ्यास गरिरहेका अमेरिकी वायु सेनाका जवानहरुको पोशाकमा चीनको नक्सा राखिएपछि चिनियाँ सञ्चारमाध्यमले त्यसको विरोध गरेका छन् ।

ड्रोन परिचालन गर्ने सो सैन्य टुकडीले आक्रमणको अभ्यास गर्न चीनको नक्सा अंकित पोशाक तयार गरेको हो । पोशाकको कुममा रातो चीनको नक्सामाथि अमेरिकी एमक्यू-९ रिपर ड्रोनको चित्र देख्न सकिन्छ ।

सेप्टेम्बर ३ मा सुरु भएको सैन्य अभ्यास आज (मंगलबार) सकिने बताइएको छ । रिपर ड्रोन लडाकु ड्रोनमध्ये सबैभन्दा शक्तिशाली मानिन्छ । मध्यपूर्व र अफ्रिकामा युद्धमा यसको प्रयोग भएको छ । सो अभ्यास चीनबाट निकै टाढा भएपनि अमेरिकी सेनाले चीनमाथि आक्रमण गर्न रिपर ड्रोन प्रयोग हुनसक्ने संकेत गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमको भनाइ छ ।

‘वासिङ्टनले चीनविरुद्ध युद्धको तयारीलाई तीव्र बनाएको छ । र, यो खालको ड्रोन विश्वभर हत्या तथा अन्य आक्रमणमा प्रयोग हुँदै आएको छ,’ ग्लोबल टाइम्सले भनेको छ, ‘यो सैन्य अभ्यासबाट पठाइएको रणनीतिक संकेत हो । युद्ध अभ्यासमा चिनियाँ नक्साको प्रयोगले मानिसहरुको मनमा चीन र अमेरिका युद्धमा जाँदैछन् भन्ने परिकल्पना पैदा गर्छ ।’

केही चिनियाँ विश्लेषकहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई सुनिश्चित गर्न निर्वाचन अघि अमेरिकाले दक्षिण चीन सागरमा अचानक आक्रमण गर्नसक्ने बताउँदै आएका छन् । एजेन्सी

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्