भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण पुष्टि



नयाँदिल्ली : भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटर ह्याण्डलबाट मंगलबार साँझ नायडूलाई संक्रमण भएको जानकारी दिइएको थियो ।

‘बिहान नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यद्यपि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ,’ उपराष्ट्रपति नायडूको ट्वीटमा लेखिएको छ ।

हाल उनी घरमै क्वरेन्टाइनमा रहेका छन् । उनकी श्रीमती उषा नायडूको समेत कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो । उनी पनि सेल्फ आइसोलेसनमा बसेकी छन् ।

भारतमा कोरोना संक्रमित हुने ७१ वर्षीय नायडू बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् । यसअघि केन्द्रीय मन्त्रीहरु गृहमन्त्री अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शोखावतमा पनि संक्रमण पुष्टि भइसकेको छ । र, सबै जना उपचारपछि निको भइसकेका छन् ।

भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्वका संक्रमण अधिक हुने मुलुकहरुमध्ये भारत अमेरिकापछि दोस्रो स्थानमा छ । मंगलबार साँझसम्म भारतमा ६१ लाखभन्दा बढीमा संक्रमित पुष्टि भइसकेको छ भने ९६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्