भाजपाका संस्थापक नेता आडवाणीसहित सबैलाई सफाइ



नयाँ दिल्ली : भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोडसम्बन्धी मुद्दामा भारतीय जनता पार्टीका उच्च तहका नेताहरुलाई सफाइ दिइएको छ ।

घटना भएको २८ वर्षपछि लखनऊको विशेष अदालतले सोमबार फैसला सुनाएको छ । न्यायाधीश एसके यादवले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारतीलगायतका ३२ आरोपीलाई सफाइ दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

त्यस मुद्दामा ४८ जनामाथि बाबरी मस्जिदमा सामूहिक आक्रमण गरी विध्वंस मच्चाएको आरोप लगाइएको थियो । तीमध्ये १६ जनाको निधन भइसकेको छ । बाबरी मस्जिद तोडफोडको घटना पूर्वनियोजित नभइ अकस्मात भएको भन्दै न्यायाधीश यादवले तस्बिरकै आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए ।

भाजपाका संस्थापक नेता आडवाणी, जोशी, उमा भारती, शिवसेनाका पूर्व सांसद सतीश प्रधान, महन्त नृत्य गोपाल दास र पूर्व मुख्यमन्त्री कल्याण सिंहले भिडियो कन्फरेन्सको माध्यमबाट अदालतको सुनुवाइ प्रक्रियामा भाग लिएका थिए । उनीहरु बाहेक २६ जना आरोपी अदालतमै उपस्थित थिए ।

न्यायाधीश यादवको यो अन्तिम फैसला हो । उनी सन् २०१९ को डिसेम्बरमा सेवानिवृत हुने भए पनि भारतका सर्वोच्च अदालतले फैसला नसुनाएसम्म सन् २०२० को सेप्टेम्बर ३० सम्मका लागि उनको सेवा विस्तार गरेको थियो । उनी यो फैसलासँगै अव सेवानिवृत हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्