चितवनका राजकुमार चेपाङ मृत्यु प्रकरण : सेनाका हुद्दालाई पक्राउ गरेर थप अनुसन्धान गरिँदै



चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

राप्ती नगरपालिका वडा नं २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत साउन ८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई भदौ ४ गते पक्राउ गरी आवश्यक छानबिन भइरहेको छ ।

उनलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले भदौ २५ गते किटानी जाहेरी दिएका थिए ।

आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ ।

राजकुमारसहित सात जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन् ।

राप्ती नगरपालिका–२, मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजामाथि समेतलाई कुटपिट भएको थियो ।

छुटेर आएदेखि बिरामी भएका राजकुमारको स्थानीय मेडिकलमा उपचार गराइरहेका थिए । मेडिकलको उपचारले निको नभएपछि भरतपुर अस्पताल ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो । (रासस)

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्