नेपाल-भारत महिला मैत्री समाजद्वारा राहत वितरण



सर्लाही : भारत सरकारको सहयोग एवं नेपाल भारत महिला मैत्री समाज काठमाडौंको समन्वयमा सर्लाही जिल्लाको बसबरिया गाउँपालिका र बरहथवा नगरपालिकास्थित बाढी पीडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरिएको छ ।

मैत्री समाज की अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले ५० टेन्ट तथा ५० त्रिपाल बरहथवा नगरपालिकाको कार्यालय परिसरमा बरहथवा नपाका उपप्रमुख र बसबरिया गाउँपालिकाकी उपाध्यक्षलाई हस्तान्तरण गरिन् ।

बरहथवा नपाकी उपप्रमुख श्रीमती सीता देवी माझीको अध्यक्षता मा भएको कार्यक्रममा सांसद चौधरीले नेपालका पाँच जिल्लाका बाढी पहिरोबाट पीडित परिवारहरुलाई भारत सरकारको सहयोगमा राहत स्वरुप टेन्ट त्रिपाल वितरण गरिएको बताए । उनले राहत सामग्री राजनीतिक पार्टी वा जातिको आधारमा नभएर आवश्यकताका आधारमा विपन्न परिवारलार्इ वितरण हुने विश्वास व्यक्त गरिन् ।

प्रदेश २ का प्रदेश सभा सदस्य संजय यादवले त्रिपाल तथा टेन्ट पाएर दुई स्थानीय तहका अति विपन्न तथा बाढी पीडित परिवारलार्इ ठूलो राहत पुगेको बताए । उक्त कार्यक्रम मा बसबारिया गाउँपालिकाकी उपाध्यक्ष रिनाकुमारी यादव, सर्लाही जिल्ला समन्वय समितिकी सभापति जमुना पराजुली, बरहथवा नपाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल, बरहथवा नपा वडा नं. १८ का अध्यक्ष मुने सराय, बरहथवा नपा वडा नं ५ का अध्यक्ष सञ्जयप्रसाद गुप्ता, वडा नं १७ का अध्यक्ष रामविश्वास राय लगायत स्थानीय नेता, समाजसेवी, बुद्धिजीवी, व्यवसायीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्