आक्रमण भइरहे विदेशी नियोग बन्द : इराकी प्रधानमन्त्री



बग्दाद : इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने बताएका छन् । उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका बताए ।

यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद विमानस्थललाई लक्षित गरी भएको क्षेप्यास्त्र आक्रमणका बारेमा तत्काल छानबिन अघि बढाउन आदेश दिएका थिए । यस आक्रमणमा बालबालिकासमेत कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री कादिमीले बग्दादमा रहेका कतिपय अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगहरु बन्द गर्नु पर्ने अवस्था सिर्जना भइसकेको मन्त्रिपरिषद बैठकमा जानकारी गराएका थिए । उनले संयुक्तराज्य अमेरिका र युरोपेली युनियनका दूतावासहरु बन्द गर्ने बारेमा छलफल भइरहेको पनि बताएका छन् ।

प्रधानमन्त्री कादिमीले क्षेत्रीय स्तरमा शान्ति सुरक्षा सुनिश्चित नहुने हो भने उनीहरु इराकमा पनि रहन मुश्किल छ भने ।

प्रतिक्रिया दिनुहोस्