बालिकामाथि यौन–दुर्व्यवहारका घटना बढ्यो : महानिरीक्षक थापा



काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय बालिकामाथि यौन–दुर्व्यवहारका घटना बढेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई महानिरीक्षक थापाले सम्झनाको बलात्कार तथा हत्याका आरोपी राजेन्द्र बोहोराले अपराध स्वीकार गरेको जानकारी दिए ।

‘सम्झना कामीको घटनामा प्रहरीले पक्राउ गरेका व्यक्तिले अपराध स्विकारेको अवस्था छ,’ थापाले भने– ‘यसअघिको घटना मिलाउने व्यक्तिहरूविरुद्ध पनि मुद्दा चलाइने भएको छ । अघिल्लो घटनामा प्रहरीलाई उजुरी दिएको भए सम्झना कामीमाथि यो घटना हुने थिएन । उक्त व्यक्ति अहिले पुर्पक्षका लागि थुनामा हुने थियो ।’

बलात्कारका घटनामा अधिकांश नजिकका व्यक्ति संलग्न हुने भएकाले रोक्न गाह्रो भएको महानिरीक्षक थापाले बताए । यद्यपि यस्ता घटनामा प्रहरीले अनुसन्धान गरेको र ८० प्रतिशत अपराधी पक्राउ गरिएको उनको भनाइ छ । प्रदेश २ र प्रदेश ५ का सीमावर्ती जिल्लामा हुने घटनाका अपराधी भने भारततिर भाग्ने गरेकाले पक्राउ गर्न नसकिएको थापाले बताए ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्