धान छाडेर कागती खेतीतर्फ आकर्षित



नवलपरासी : धान खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने तिनको भनाइ छ ।

गत वर्षसम्मको धानखेतमा अहिले आफूले कागती लगाएको मध्यविन्दु नगरपालिका –१५, भिउरानकी सीता भट्टराईले बताए । ‘धानखेती गर्दा लाग्ने समय र मेहनतभन्दा कागती खेतीमा कम समय र मेहनतमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने भएपछि अहिले १२ कठ्ठा जग्गामा कागती खेती शुरु गरेको छु’, भट्टराईले भने ।

कागती खेती शुरु गर्दा शुरुमा उनले रु एक लाख ५० हजार लगानी गरे । समयसमयमा गोडमेल र मल हालेपछि कागती खेतीमा खासै मेहनत गर्न नपर्ने र एक पटक लगानी गरेपछि पटकपटक धेरै लगानी गर्न नपर्ने हुँदा आम्दानी धेरै हुने उनले बताए ।

कागती उत्पादनपछि बजारको अहिलेसम्म कुनै समस्या नभएको मध्यविन्दुका दुर्गा पाण्डेले बताए । ‘बजारको पनि अहिलेसम्म कुनै समस्या भएको छैन, व्यापारी बगैंँचामा आएरै लान्छन्’, पाण्डेले भने, ‘स्थानीय बजारमा समेत बिक्री हुन्छ ।’ नवलपुरको कावासोती, नारायणगढ, बुटवल, पोखरा,काठमाडौँ लगायत शहरमा उत्पादन भएका कागती निर्यात हुने गरेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्