सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्दै कांग्रेस



काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ ।

बूढानीलकण्ठमा आज (बुधबार) बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारी बैठकले आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले बताए ।

उनका अनुसार संसदको बैठक माग गर्ने विषयमा केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकमा छलफल गरिने छ । संसदीय दलको बैठक कहिले गर्ने भन्ने विषय भने अहिले टुंगो लागेको छैन ।

आजको पदाधिकारी बैठकमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको थियो । केही दिनअघि पौडेलसहितका २७ जना केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता गराएका थिए ।

विरोध पत्रमा पार्टी सभापतिले विधान र विधि भन्दा बाहिर गएर विभाग गठन र विस्तार गरेको, सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा लिप्त हुँदा पनि प्रतिपक्षीले भूमिका नखेलेको उल्लेख छ । पदाधिकारी बैठकमा देउवा समूहका नेता मात्रै सहभागी थिए ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्