७ केजी अफिमसहित २ जना पक्राउ



कपिलवस्तु : साढे ७ केजी अफिमसहित दुई चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले सरप्राईज चेकिङ्ग गर्ने क्रममा मंगलबार राती १० बजे कृष्णनगर नगरपालिका वडा नं.२ पिपल बोटको चेक प्वाईन्टबाट सो परिमाणको अफिम बरामद गरिएको हो ।

प्रहरीले चन्द्रौटाबाट कृष्णनगर तर्फ आएको लु १ ह १५७ नं.को अटोमा सवार रोल्पा जिल्ला कुलेरी गाँउपालिका १ कुरेलीका ४९ वर्षकी सिता रोकालाई शंका लागि चेक गर्दा निजलेको झोलाबाट साढे ७ किलो अफिम बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

चालकको सिट पछाडी अटोमा बसेकी उनले हातमा छोपेको लेडिज ब्यागमा २ केजी र पछाडी राखेको रेग्जिनको झोलामा रहेको साढे ५ केजी परिमाणको अफिम भेटिएको हो । उनीसँगै अटो चालक कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं.५ का २० वर्षिय शुसिल क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

प्रहरीले बरामद गरेको अफिम भारत पुर्याएपछिको अन्तर्राष्ट्रिय बजार मूल्य १ करोड बढि पर्ने बताईन्छ । प्रहरीले लागु औषध ओसारपसार नियन्त्रणका लागि थप कडाई गरपछि सिमा क्षेत्रमा लागु औषध बरामद हुने क्रम बढेको हो ।

यस अघि असोज ७ गते पनि कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा ३७ केजी चरेससहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शंका लागि निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० वर्षिय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ बनियाभारका ३५ वर्षिय बसन्ती घर्ति नियन्त्रणमा आएका थिए ।

नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद भएको थियो ।

प्रकाशितः १४ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्