बामदेव गौतमविरुद्धको रिट हेर्दाहेर्दैमा



काठमाडौं : राष्ट्रिय सभामा मानोनीत बामदेव गौतमको रिट सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा परेको छ । राष्ट्रिय सभा सदस्य पदका सर्वोच्चमा परेको रिटमाथिको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिए ।

गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले सर्वाेच्चमा रिट दिएका थिए ।

त्यस रिटको प्रारम्भिक सुनुवाईमा सर्वाेच्चले गत साता अन्तरिम आदेश जारी गर्दै गौतमलाई तत्काल थप कुनै पनि संवैधानिक पदमा नियुक्ति नदिन आदेश जारी गरेको थियो । इजलासले जारी गरिएको अन्तरिम आदेशको निरन्तरताका लागि दुवै पक्षलाई छलफल गर्न आजका लागि बोलाउने पेशीको आदेश दिएको थियो । अदालतको आदेशबमोजिम त्यो विषय गम्भीर कानुनी एवं संवैधानिक प्रश्न समावेश भएकाले संवैधानिक इजलास गठन गरिएको हो ।

प्रतिनिधिसभामा पराजित गौतमलाई सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिश गरेको थियो । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन । गौतमले शपथसमेत लिइसकेका छन् । अहिले गौतमलाई सरकारमा सहभागी गराउने गृहकार्य भइरहेका बेला सर्वाेच्चमा मुद्दा परेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । विपक्षी सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए ।

यो पनि :

बामदेव गौतमविरुद्धको रिट केही बेरपछि सर्वाेच्चमा सुनुवाइ

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्