शुल्क समायोजन गर्न ८ ल्याबलाई २४ घण्टे अल्टिमेटम



काठमाडौं : सरकारले पीसीआर टेस्टको शुल्क समायोजन गर्न ८ वटा निजी प्रयोगशालालाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने निर्णय गरेको छ ।

सरकारले भदौ २८ बाट आरटी–पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ । तर, स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन् ।

ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

साथै मन्त्रालयले कोलोबजारीमा कारबाही गरेर ल्याब बन्द गराउन गृह मन्त्रालय र बाणिज्य विभागलाई आग्रह समेत गरेको छ ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्